कारागारबाट छुट्ने दिन नै सहनीको मृत्यु

कारागारबाट छुट्ने दिन नै सहनीको मृत्यु


विराटनगर ।

मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीकाे मृत्यु भएको छ ।

लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको मृत्यु भएको हाे ।

उनकाे कैद भुक्तान अवधी आजै सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ ।

पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।

छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् ।

सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए ।

‘श्वासप्रश्वासमा समस्या देखिएपछि हामीले उहाँलाई अस्पताल लगेका थियौं, आफन्तलाई जानकारी गराउन खोज्दा उहाँले (मतकले) दिएको नम्बर नै मिस्टेक रहेछ, फोन लागेन,’ उनले भने,’ नम्बर मिस्टेक हुँदा समयमा नै जानकारी गराउन सकिएन् ।’

लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।