हिमालयन रिइन्सुरेन्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहाेस्

हिमालयन रिइन्सुरेन्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहाेस्


काठमाडौं ।

हिमालयन रिइन्सुरेन्सको आइपीओ आज बुधवार (पुस ११ गते) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस आइपीओमा १५ लाख ७३ हजार २१९ जनाको आवेदन परेको थियो।

१५ लाख ६४ हजार ५६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । ८ हजार ६५५ जनाको आवेदन रद्द भएको छ। यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै सेयर पाएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोला प्रथामा सहभागी गराएर गोला प्रथा शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा २९ हजार २१ जनाले थप १० कित्ता सेयर पाएका छन् । अर्थात् २९ हजार २१ जनाले ४० कित्ता सेयर हात पार्न सफल भएका छन् । कम्पनीले मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो ।

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, हिमालयन रिइन्सुरेन्स कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।