२०८० साल मंसिर २९ गते । काठमाडौँ महानगरको २९औँ स्थापना दिवसका अवसरमा आयोजना हुने समारोहमा उपस्थितिका लागि आएको निम्तो छाड्न पनि मनले मानेन । फेरि सोही दिनका लागि तय गरिएको यात्रा स्थगित गर्न पनि समस्या ।
बिहान ९ बजे सैनिक मञ्च टुँडिखेल पुग्नु छ । अनि कतिबेला कार्यक्रम सकेर बागलुङका विभिन्न क्षेत्रको भ्रमण र आफन्तजनसँग भेटघाट गर्न थय गरिएकाे यात्रामा निस्किनु भन्ने हतारो र चिन्ता दुवै थियो ।
काठमाडौँबाट मुग्लिन हुँदै पोखरा र पोखराबाट बागलुङ अनि त्यहाँबाट बुर्तिबाङ, निसिखोला र ढोरपाटन क्षेत्रसम्म पुग्ने हाम्रो योजना थियो । करिब १ महिनाअघि बनेको हाम्रो योजनामा महानगरको निम्तोले समय हेरफेर गर्न बाध्य बनायो । हामीले बिहान ११ बजेसम्म काठमाडौँ महानगरको स्थापना दिवसलाई छुट्याउने र त्यसपछि आफ्नो बाटो लाग्ने निधो गर्यौँ । कार्यक्रममा उपस्थिति जनायौँ र ११ बजे त्यहाँबाट निस्किएर सबैजना त्रिपुरेश्वरमा भेला भयौँ ।
यात्रामा थियौँ– म, मेरा काका (शिव उप्रेती), मेरा दाइ (शिव उप्रेती) र फुपूका छोरा (उत्सव टण्डन) । हामी दुइटा बाइकमा ४ जना जाने भयौँ । एउटा बाइक मैले चलाउने भएँ भने अर्को फुपूको छोराले । हामी सबैजना त्रिपुरेश्वरमा भेला हुँदा १२ बजिसकेको थियो । त्यसपछि हामी बाटो लाग्यौँ । हामीलाई साँझसम्म जसरी पनि पोखरा पुग्नु थियो ।
तर, काठमाडौँबाटै हिँड्न ढिला भइसकेकाले हाम्रा लागि पोखरा पुग्नु चुनौती थियो । चिसो मौसम, त्यसमाथि बाइकको यात्राले गर्दा पनि चुनौती थपिएको थियो । त्रिपुरेश्वरबाट नागढुंगा पुग्नै हामीलाई १ घन्टा लाग्यो । नागढुंगाबाट नौबिसेसम्मको बाटो सम्झिँदै दिक्क लागिरहेको थियो, तर घुम्न तातिएका हामी र हाम्रा बाइकका पांग्रालाई दिक्कलाग्दो सडकले रोक्न सकेन ।
भत्किएको सडक र वाक्क लाग्ने जाम पार गर्दै दिउँसो २ बजे नौबिसे पार गरियो । त्यसपछि केही राहत महसुस भयो । तर, अघि बढ्दै जाँदा ठाउँठाउँमा हुँदै गरेको सडक मर्मत र विस्तारको कामले हाम्रो यात्रामा अवरोध पुर्याइरहेको थियो । ६ बजेसम्म पोखरा पुग्ने हाम्रो योजना विफल हुँदै थियो । म र मेरा काका गल्छी पुग्दै थियौँ, त्यत्तिकैमा काकाको मोबाइलमा फोन आयो । फोन पछाडि रहेका दाइको थियो । हामीलाई कुर्न भनियो ।
त्यसपछि हामी गजुरीमा रोकिने र सबैजना सँगै जाने निर्णयमा पुग्यौँ । मैले पनि गजुरीमा पुगेर बाइक रोकेँ र हामी २ जना अरू २ जनाको पर्खाइमा बस्यौँ । करिब आधा घन्टाको पर्खाइपछि हामी चारै जना एकै ठाउँमा भयौँ । हामी भेला हुँदासम्म करिब ३ बजिसकेको थियो । अब हामीलाई बाँकी ३ घन्टाभित्र पोखरा पुगिसक्नुपर्ने थियो । मंसिर–पुसको महिना, ६ नबज्दै झमक्क हुने भएकाले पनि हामीलाई समय र दुरी लयमा राख्नुपर्ने बाध्यता थियो ।
गजुरीबाट हामी अब कतै नरोकिने, सीधै पोखरा पुग्ने सल्लाह गरेर हिँड्यौँ । खैरहनी पुग्दासम्म घामले डाँडो काटिसकेको थियो । त्यही पनि पोखरा पुग्ने हाम्रो लक्ष्य सेलाएको थिएन ।
खैरहनीबाट अघि बढेपछि भने सडकको दुरवस्थाले हामीलाई हच्कायो । डुम्रे पुग्दा त हामी पोखरा पुग्ने योजनाबाट पछि हट्यौँ । मुग्लिङ–पोखरा सडकखण्ड विस्तारको कामले गर्दा हामीलाई समस्या भएको थियो । जताजतै भत्किएको, त्यसमाथि हिलाम्मे सडकले हाम्रो लक्ष्य दमौलीसम्मको रह्यो ।
झमक्क परेको साँझले गर्दा पनि हामी दमोलीमै बास बस्ने भयौँ । करिब ६ बजे दमौलीमा रोकिएका हामीलाई बास खोज्दाखोज्दै ७ बज्यो । अँध्यारोसँगै बन्द हुने दमौलीको बजारले पनि हामीलाई बास खोज्न समस्या पारेको थियो । जसोतसो एउटा होटलमा चारै जनालाई एउटै कोठामा सुत्ने व्यवस्था भएको एउटा बासस्थान निश्चित भयो ।
त्यसपछि हामी खाना खाएर ओछ्यानमा पल्टिहाल्यौँ । ओछ्यानमै बसेर भोलिपल्ट गर्ने यात्राको योजना बनाउँदै थियौँ । पृथ्वी राजमार्गको अवस्थाले गर्दा हामी वैकल्पिक बाटोको खोजीमा पनि थियौँ ।
काठमाडौँबाट हिँड्दा सडकको बारेमा खासै जानकारी नराखेकाले हामीलाई निकै अहसज भएको थियो । अब भने हामी सहज बाटोको खोजीमा थियौँ । त्यत्तिकैमा दमौलीको माइक्रो पार्कको पछाडिबाट जाने पिच सडक पोखरासम्मै पुग्छ भन्ने जानकारी पायौँ ।
त्यसपछि हामी भोलिपल्टको यात्रा सहज हुने आसमा दिनभरको थकानलाई ओछ्यानमा विसर्जन गर्नतिर लाग्यौँ । बाटोको दुरवस्था र बाइक चलाउँदाको थकानले हामी ९ नबज्दै भुसुक्कै भएछौँ । एकैपटक बिहान ५ बजे आँखा खुले ।
पहिलो दिन पोखरामा बस्ने र भोलिपल्ट बागलुङ पुग्ने हाम्रो योजनामा हामी ५० किमी पछि थियौँ । अब हामीलाई त्यसको भरपाइ गर्नु थियो । दमौलीबाट पोखराको दुरी करिब ४९ किमी भएकाले बिहानै त्यो दुरी पूरा गर्नुपर्ने थियो । होइन भने आज हामीलाई बागलुङसम्म पुग्न मुस्किल थियो ।
त्यसैले दमौलीको माइक्रो पार्कको पछाडिको भित्री बाटो हुँदै पोखरा पुग्न हामी बिहान ६ बजे नै तयार भयौँ । झिसमिसे उज्यालो र हुस्सुले ढाकिएको दमौलीलाई छाडेर हाम्रो यात्रा पोखराका लागि सुरु भयो । ४ पत्र लुगा, हातमा पन्जा र टाउकोमा हेलमेट लगाउँदा पनि छाती र हात–खुट्टाको औँलामा चिसो ठोक्किइरहेकै थियो ।
मादी नदीको तिरैतिर सडक भएकाले नदीको चिसो सिरेटोले हानिरहेको थियो भने गाउँ नै ढाकिने गरी धुम्म परेको हुस्सुले हामीलाई बाटो पहिल्याउनै मुस्किल पर्यो ।
तर, हिजोको लक्ष्य पूरा गर्न हामीलाई घामसँगै पोखरा पुग्नुपर्ने थियो । १–२ ठाउँमा लघुशंका गर्नेबाहेक हामीले कतै पनि अलमल गरेनौँ । कतैकतै अग्लो स्थानमा पुग्दा हुस्सु कुहिरो तलतलै दौडिएजस्तो लाग्थ्यो । मोटरसाइकलको यात्रा भएकाले बाटोमा देखिने मनोरम दृश्यलाई नियाल्दै हिँड्दा त्यो चिसो सिरेटो पनि बिर्सिए जस्तै थियो ।
बिहान ८ बजेतिर हामी पोखराको मालेपाटन पुग्यौँ । मालेपाटन पुगेपछि बिहानको काठ्यांग्रिँदो चिसो र खाली पेटमै यात्रा गरेकाले पेटमा मुसा दगुरेको अनुभव गर्न थालियो । केही चारो हाल्ने त भइयो, तर चिसो मौसम, त्यसमाथि बिहानै भएकाले बजार क्षेत्र सुनसान जस्तै थियो । बल्लतल्ल एउटा सानो चिया पसल जस्तो टहरा फेला पर्यो । त्यहीँ बाइक रोक्ने र एकछिन आरामको सास फेर्दै चाउचाउको तातो झोल पिउने सहमति जुट्यो ।
कठ्यांग्रिएको चिसो हातलाई पन्जाबाट बाहिर निकालेर आगोको रापमा ओर्काइ–फर्काइ गर्दागर्दै उमालेको चाउचाउको बाफले टेबल घेरेको सूचना साहुनीले दिइन् । त्यसपछि तातेको हातलाई गोजीमा हाल्दै पेटलाई तताउन टेबलतिर लाग्यौँ । तात्तातो चाउचाउको झोलले पेटपूजा गरेपछि साहुनीलाई ४ कचौरा चाउचाउको ३५० रुपैयाँ बुझायौँ र अगाडिको यात्रा सुरु गर्यौँ ।
त्यहाँबाट तालचोक हुँदै पोखरा बजार र त्यहाँबाट मध्यपहाडी राजमार्गको बागलुङ हाइवे हुँदै सीधै बागलुङतर्फ लागियो । बागलुङ हाइवेको फराकिलो सडकमा बाइक चलाउँदा कहिल्यै नघट्ने ‘स्पिड मिटर’ले हाम्रो गन्तव्यलाई पनि चाँडै घटाइरहेको थियो । तर, केही किमीको यात्रा गर्दै हाइवेको चौडाइ घटेर आधा भयो । तर, सडकको अवस्था राम्रै भएकाले खासै समस्या परेन ।
जाँदै गर्दा नौडाँडा पुगेपछि रापिलो घाम लागिरहेको थियो । जति ढिला भए पनि तातो घाम नतापी जान मनले मानेन । एकछिन घाम तापेर सुस्ताउने अनि बाटो लाग्ने योजनामा हामी रोकियौँ ।
क्रमशः…
प्रतिक्रिया