काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्।
अख्तियारका अनुसार कण्डेलले जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले कण्डेललाई सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
आयोगले उनको साथबाट घुस रकम ४० हजार रुपैयाँसहित स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरेको जनाएको छ।
कण्डेललाई शनिबार नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
अख्तियारले सार्वजनिक सेवामा हुने भ्रष्टाचार तथा अनियमितताविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया