जिप दुर्घटनामा मृत्यु भएका १० मध्ये ५ जना एउटै पालिकाका, गाउँपालिकाले दियाे शोक बिदा

जिप दुर्घटनामा मृत्यु भएका १० मध्ये ५ जना एउटै पालिकाका, गाउँपालिकाले दियाे शोक बिदा


पाल्पा ।

पाल्पामा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको छ ।

शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो ।

गाउँपालिकाको वडनम्बर ६ मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । त्यसमध्य ५ जना पालिकाभित्रैका थिए । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको छ ।

उक्त घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । अन्य १६ जना घाइतेको उपचार हुँदैछ ।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका-६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ-६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन्।

यसैगरी तिनाउँ-२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका-१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका-५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीप चालक तानसेन नगरपालिका-१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।