बागलुङ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुंगे पुल निर्माण भएको छ ।
दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७.२ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको हो ।
निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुंगे पुल ठेक्का सम्झौता मितिभन्दा ६ महिनाअगावै निर्माण भएको छ ।
काठमाडौँको सस्पेन्सन वृजि डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा ६ महिनाअगावै निर्माण भएको हो ।
१ करोड २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इन्जिनियर निरज सापकोटाले जानकारी दिए ।
‘१८ महिनामा सक्नुपर्ने काम १ वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिल्यै सकिन्थ्यो । सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो’, उनले भने, ‘पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुने भयो । पुल अन्तिम प्राविधिक मूल्यांकनपछि पुल हस्तान्तरण गरिने छ ।’
इन्जिनियर सापकोटाका अनुसार ‘डि’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुंगे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र २२७ मिटर लामो झोलुंगे पुल पहिलो पटक निर्माण भएको हो ।
साविक दुदिलाभाटी गाउँका ३ वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताए ।
उनका अनुसार पैदल यात्रुलाई काफलठुटा हुँदै, चाउथेखोला, मान्द्रेखोला तरेर गौदी पुग्न १ घन्टा लाग्नेमा पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने भएको छ ।
५ वर्षदेखिको अनवरत प्रयास र पहलपछि पुल निर्माण गर्न सफल भएको गलकोटका समाजसेवी ललिता थापाले जानकारी दिइन् ।
‘मध्यपहाडसँग छुटेको गाउँलाई झोलुंगे पुलले जोडेर सहज भएको छ । जिल्ला सदरमुकाम जानलाई यहाँका बासिन्दाको १ घन्टाको यात्रा छोटो भएको छ’, उनले भने, ‘झोलुंगे पुल निर्माणसँगै स्थानीयबासीलाई स्वास्थ्यचौकी, विद्यालय र वडा कार्यालय आवतजावत गर्न सहज भएको हो ।’
निर्माण गरिएको पुल साउन दोस्रो हप्ता प्राविधिक मूल्यांकनपछि हस्तान्तरण गरिने निर्माण कम्पनीका तीर्थाराम खड्काले जानकारी दिए ।
प्रतिक्रिया