मधेश : माग सम्बोधन नभए फेरि बैठक अवरुद्ध गर्ने जसपा नेपालको चेतावनी

मधेश : माग सम्बोधन नभए फेरि बैठक अवरुद्ध गर्ने जसपा नेपालको चेतावनी


जनकपुरधाम । बजेटका विषयमा मुख्यमन्त्रीको जवाफ अस्पष्ट भएको भन्दै मधेश प्रदेशको प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पुनः बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको बैठकको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले प्रतिपक्षीको मागअनुसार मुख्यमन्त्री सतिशकुमार सिंहले सम्बोधन गरे पनि अस्पष्ट रहेको बताए ।

उनले भने, ‘हिजो प्रतिपक्षको मागअनुसार मुख्यमन्त्रीजीले सम्बोधन गर्नुभयो । तर उहाँको सम्बोधन अस्पष्ट थियो । संसदीय छानबिनसम्बन्धी अभिव्यक्ति आएन,’ प्रमुख सचेतक यादवले भने ‘ बजेटका बारेमा हामीले राखेको माग सम्बोधन नभए भोलिदेखि हामी सदन चल्ल दिन्नौं ।’

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे जसपा नेपालले उच्चस्तरीय छानबिन समितिको गठन, बजेट संशोधन, ६४ वटा क्षेत्रमा सन्तुलित बजेट विनियोजन लगायतको माग गर्दै आएको छ ।

बिहीबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सिंहले बजेटमा त्रुटि भएको भए उच्चस्तरीय छानबिन समिति गठन गर्ने र सबै क्षेत्रमा सन्तुलित बजेटको लागि प्रयास गर्ने जवाफ बताएका थिए ।

त्यसपछि प्रदेशसभा बैठक चलेको थियो । प्रदेशसभामा आज आर्थिक विधेयक २०८१ माथि छलफल चलिरहेको छ ।