किसानको बक्यौताप्रति मुख्यमन्त्रीको चासो

किसानको बक्यौताप्रति मुख्यमन्त्रीको चासो


विराटनगर । किसानहरूले बिक्री गरेको दूधको भुक्तानी नपाएको गुनासो गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर दुग्ध वितरण आयोजनाका कर्मचारीलाई कार्यालयमा बोलाएर छलफल गरेका छन् ।

शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र केही कर्मचारीहरूलाई कार्यालयमा बोलाएर बक्यौता भुक्तानीका लागि छलफल गरेका हुन् ।

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न निर्देशन दिएको उनले बताए ।

किसानहरूको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन तथा बजारीकरणका लागि सङ्घीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने मुख्यमन्त्री कार्कीले बताए ।

विराटनगर दुग्ध वितरण आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, सप्तरीलगायत जिल्लाका किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीले बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले घाटा भएको बताए ।