धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन् । चौधरीले बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएका हुन् ।
स्वकीय सचिव भक्त चलाउनेमार्फत चौधरीले राजीनामा बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्रीले शुक्रबार ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । त्यसको अघिल्लो दिन चौधरीले राजीनामा दिएका हुन् ।
‘मैले मात्र काँध थापेर सरकार जोगिने होइन । अन्तिम समयसम्म उहाँ (मुख्यमन्त्री) लाई साथ दिएको थिएँ’, चौधरीले भने, ‘सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।’
मुख्यमन्त्री सोडारीले आफूले पदभार सम्हालेकै दिन ६ वैशाखमा चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका थिए ।
२० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको छ । सोडारीले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिएको घोषणा गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया