सुदूरपश्चिममा नयाँ सरकार गठन आज, काँग्रेसबाट शाह मुख्यमन्त्री

सुदूरपश्चिममा नयाँ सरकार गठन आज, काँग्रेसबाट शाह मुख्यमन्त्री


काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख नजिर मियाँले आज साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका छन् ।

शुक्रवार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार बन्न लागेको हो । दुई दल एमाले र काँग्रेसबिच सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री काँग्रेसले पाउने सहमति भएको छ ।

सोही सहमति अनुसार काँग्रेसले आज मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

त्यहाँ काँग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ सरकारलाई समर्थन गर्ने बताएको छ ।

काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह नै मुख्यमन्त्री बन्ने काँग्रेस भित्र सहमति भएको बताइएको छ । यसअघि प्रकाश देउवा र बहादुर सिंह थापाले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका थिए ।

तर, सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउने गरी तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन् ।