बंगलादेशमा भएका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग

बंगलादेशमा भएका नेपालीको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग


काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले बंगलादेशमा भएका नेपालीहरूको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

‘बंगलादेशमा नेपालहरू छन् । तिनीहरुको अवस्था के छ ? कति विद्यार्थी बंगलादेशमा छन् ? कति नेपाल फर्किए ? बंगलादेशमा रहेका नेपालीहरूको अवस्था के छ ?’ उनले सरकारलाई प्रश्न गरे ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यो विषयमा जानकारी गराउन सभामुख देवराज घिमिरेसँग रुलिङको माग गरेका छन् ।

आजपा अध्यक्ष साहले इजलरायलमा बेपत्ता विपिन जोशीको विषयमा पनि सरकारको ध्यानाकर्षण गरे । सरकारको गैरजिम्मेवारीपनकै कारण रुसमा नेपालीहरू अवैध रुपमा जानेक्रम नरोकिएको बताए । एक तिहाइ व्यक्ति नेपाल बाहिर रहेकाले उनीहरू समेतको सुरक्षाको ख्याल सरकारले गर्नुपर्नेमा जोड दिए ।

राजदूत नियुक्त गर्दा समेत यस्तो विषयलाई ख्याल गर्नुपर्ने उनले बताए । सम्बन्धित देशको ज्ञान भएका योग्य व्यक्तिलाई राजदूत बनाउनुपर्ने र विनाकारण फिर्ता बोलाउन नहुने बताए ।

सरकारले कच्चा कूटनीति प्रदर्शन गरिरहेको उनले बताए । नातागोता हेरेर राजदूत नियुक्त गरेका कारणले समावेशीताको विषय समेत कार्यान्वयन हुन नसकिरहेको उनले बताए ।

असमावेशी, कच्चा कूटनीति भएका र योग्य नरहेका कारण सरकारले हालै सिफारिस गरेका राजदूतहरुलाई संसदीय अनुमोदनमा अगाडि बढाउन नहुने र सरकारले फिर्ता लिनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले पनि बंगलादेशमा रहेका नेपालीहरुको अवस्थाबारे सरकारले जानकारी गराउनुपर्ने बताए ।

सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा रानाले यो विषयमा सरकारको ध्यानाकर्षण समेत गरेकी छन् ।