अमेरिकाद्वारा हसिनाको आरोप अस्वीकार

अमेरिकाद्वारा हसिनाको आरोप अस्वीकार


काठमाडौँ- बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ ।

हसिनाको बर्हिगमनमा अमेरिकी हस्तक्षेपको आरोपबारे सोधिएको प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले अमेरिकाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका हुन ।बङ्लादेशको राजनैतिक परिवर्तन बङ्लादेशी जनताको छनोट रहेको बताउँदै उनले बङ्गलादेशी जनताले नै आफ्नो सरकारको निर्माण र विघटन गर्नु पाउनु पर्छ भन्ने पक्षमा अमेरिका रहेको बताए ।

हसिनाका छोरा तथा पूर्व सरकारी सल्लाहकार सजीब वाजेद जोयले अज्ञात विदेशी शक्तिले बङ्लादेशको विरोध प्रदर्शनलाई समर्थन गरेको आरोप लगाएका थिए । यद्यपि उनले कुनै प्रमाण भने पेस गरेका थिएनन् ।

मे महिनामा हसिनाले विदेशी शक्तिलाई बङ्लादेश सरकारलाई सैन्य विमानस्थल ९एयरबेस० निर्माण गर्न अनुमति नदिएपछि आफू विरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएकी थिइन ।

संयुक्त राज्य अमेरिकाको सामान्यतया बङ्लादेशसँग मैत्रीपूर्ण सम्बन्ध छ । यद्यपि हालको अवस्थामा बङ्गलादेश र अमेरिकाबीच आरोप प्रत्यारोपको श्रङ्खला चलिरहेको देखिन्छ ।

बङ्गलादेशमा हसिनाको सरकार अपदस्थ भएपछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको प्रमुखको रूपमा रहेका छन् ।