संसदीय सुनुवाइसहित दुई संयुक्त समितिको सभापति साउन ३१ मा चयन हुने

संसदीय सुनुवाइसहित दुई संयुक्त समितिको सभापति साउन ३१ मा चयन हुने


काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिको सभापति आगामी साउन ३१ गते चयन हुने भएका छन् । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले मंगलबार निर्वाचनको मिति तोकेको संघीय संसद सचिवालयले जनाएको हो ।

संसदका महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनाअनुसार साउन ३० को दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने साढे ४ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

उम्मेदवारी दर्ता भएको भोलिपल्ट साउन ३१ को दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सदस्यले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ ।