मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हुनेछ : माधव नेपाल

मंसिरमा हुने स्थानीय तहको उपचुनाव हाम्रो पार्टीको लागि परीक्षा हुनेछ : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी मंसिरमा हुने उपनिर्वाचनमा पार्टीको परीक्षण हुने भएकाले सबै शक्ति केन्द्रित गर्न निर्देशन दिएका छन् ।

नेकपा एसको दशौं महाधिवेशनपछि आयोजित पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी २०८४ को निर्वाचनलाई समेत ध्यान दिएर जित्ने ठाउँमा फरक रणनीति अपनाउनुपर्ने बताए ।

नेपालले भने– सम्भवतः आगामी मंसिरमा स्थानीय तहका विभिन्न रिक्त पदमा उपचुनाव हुन गइरहेको छ । त्यो उपचुनावमा हाम्रो परीक्षा हुनेछ । त्यो परीक्षाका आधारमा त्यहाँको हाम्रो पार्टी नेतृत्वको मुल्यांकन हुनेछ । जिम्मेवारी पाएपछि मात्र खट्छु भन्ने होइन कि यो मेरो जिम्मेवारी हो भनेर अहिलेदेखि नै खटिनुपर्छ ।

नेपालले नेकपा एमालेको जस्तै निर्वाचन क्षेत्र केन्द्रित जिम्मेवारी केन्द्रीय सदस्यहरुलाई दिने संकेतसमेत गरे । नेपालले पार्टीमा अनुशासनहीनता र अराजकता बढेको भन्दै संक्रमणकाल भएका कारण कारबाही गर्न नसकेर निरीह बन्नुपरेको बताए ।

तत्कालीन केन्द्रीय कमिटीकै सदस्यहरुले पार्टीको निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट दिन नगएको समेत बताए । तत्कालीन केन्द्रीय सदस्यहरुमध्ये एक सयजनाले भोट नहालेको सूचनासमेत आएको नेपालले बताए ।