काठमाडौं । प्रस्तावित राजदूतविरुद्धको उजुरी खोल्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार मंगलबार बिहान ११ बजे बैठक राखिएको छ ।
बैठक सिंहदरवारस्थित काठघर नम्बर २ मा बस्नेछ । बैठकको कार्यसूचीमा ‘ विभिन्न देशका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी तथा सूचनाहरु खोली वितरण गर्ने’ रहेको छ ।
गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तावित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो । निर्धारित समयभित्र ९ वटा उजुरी परेको संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
केही व्यक्तिगत र केही सामुहिक उजुरी परेको छ । उजुरीमा राजदूत सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयमाथि प्रश्न समेत उठाइएको छ ।
राजदूत सिफारिस गर्दा किन समावेशीतालाई ख्याल गरिएन भन्ने प्रश्नसहितका पनि उजुरी परेका छन् ।
गत साउन १४ गते सरकारले विभिन्न १८ देशका लागि राजदूतहरुको नाम सिफारिस गरेको थियो । तर, पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको थियो ।
अष्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम भने सुनुवाइ समितिमा पुगेको छैन ।समितिले प्राप्त १७ जना प्रस्तवित राजदूत उपर उजुरी आह्वान गरेको हो ।
प्रस्तावित राजदूतहरुमा चीनका लागि कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।
इजलायलका लागि धनप्रसाद पण्डित, मलेलियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिमाल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल र कतारका लागि रामेशचन्द्र पौडेलको नाम सिफारिस भएको छ ।
रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ ।
समिति सभापति इश्वरी देवी न्यौपानेका अनुसार मंगलबार प्राप्त उजुरी खोलिनेछ । त्यसपछि उजुरीकर्तालाई उजुरीको कारण र आधार प्रस्तुत गर्न दिएर प्रस्तावित राजदूतको संसदीय सुनुवाइको कार्य अगाडि बढाउनेछ ।
प्रतिक्रिया