काठमाडौं । गण्डकी प्रदेश सरकारमा एमाले सांसद प्रकाशबहादुर अधिकारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । यसअघिका भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन् । एमालेबाट केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा जाँदा प्रकाशबहादुरले भौतिक पूर्वाधारजस्तो शक्तिशाली मन्त्रालय प्राप्त गरेका छन् । केसी अघिल्लो चुनावताका राप्रपाबाट एमाले प्रवेश गरेका हुन् ।
एमालेबाट पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।
एमालेका ४ मन्त्रीमध्ये पद्मा र मित्रलाल उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह तथा कृष्ण र प्रकाशबहादुर खगराज पक्षधर हुन् ।
कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री, आर्थिक मामिलामा डा. गुरुङ यथावत छन् । नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीकै जिम्मेवारीमा छन् ।
मुख्यमन्त्री सुरेन्द्रराजले एमालेका ४ मन्त्रीको नियुक्ति र मनाङेको जिम्मेवारी हेरफेरसँगै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । केन्द्रीय समीकरण बनेको ठ्याक्कै दुई महिनापछि पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । मन्त्रीहरुको केहीबेरमा सपथ हुँदै छ ।
प्रतिक्रिया