नदीको मापदण्डबारे ओलीप्रति बालेनको कटाक्ष : उहिलै मरिन् सासु, अहिले आए आँशु

नदीको मापदण्डबारे ओलीप्रति बालेनको कटाक्ष : उहिलै मरिन् सासु, अहिले आए आँशु


काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नदी किनारको मापदण्डको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’को चरित्र देखिएको आरोप लगाएका छन्।

आफू मेयर हुनुभन्दा ३ वर्षअघि नै सर्वोच्च अदालतले नदी किनारको मापदण्डको विषयमा फैसला गरेको भन्दै उनले ओलीको आलोचना गरेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले नियुक्त गर्नु भएको महान्यायाधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौंको मेयर विद्यासुन्दर शाक्य। यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदीतट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो।’

बालेनले ३ वर्षअघिको फैसलाविरुद्ध त्यतिबेला नै पुनरावेदन किन नगरेको भन्दै प्रश्न समेत गरेका छन्।

‘प्रधानमन्त्री ओली, बागमतीका मुख्यमन्त्री पौडेल, काठमाडौं महानगरका मेयर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन्। यसको अर्थ हो, त्यो फैसलामा यीमध्ये कसैको असहमति रहेन। हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन्? कि भन्न पर्‍यो, त्यो बेला हाम्रो बुद्धि पुगेन। या भन्न पर्‍यो, अहिले हाम्रो दाउ अर्कै छ,’ उनले भने।

उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्ने उनको भनाइ छ।

साथै उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्न आग्रह गरेका छन्। अन्यथा, पछि सरकारले अर्को मापदण्ड ल्याएर धोका दिने भन्दै उनले कटाक्ष गरेका छन्।

बालेनले यसअघि सर्वोच्चले तय गरेको नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका थिए। त्यसअघि सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर थप गरेर फैसला गरेपछि काठमाडौं महानगर प्रमुखस्तरीय निर्णय गरेर बालेनले ती क्षेत्रमा संरचना निर्माणमा रोक लगाएका थिए।