इटहरीका १० परिवारको लोभलाग्दो नाङ्लो व्यापार

इटहरीका १० परिवारको लोभलाग्दो नाङ्लो व्यापार


धरान । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुर्खौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारले लोभलाग्दो आर्जन पनि गरेका छन् ।

सोही स्थानका वसन्त राई दुई दशकदेखि नाङ्लो बुन्दै आएका छन् । भोजपुर होम्ताङका उनको व्यवसाय नै नाङ्लोको व्यापार हो । नाङ्लो बेचेर उनले घरव्यवहार चलाउँदै आएका छन् । इटहरी सुनौलो बस्तीमा होम्ताङबाट आएका राई जातिको बाहुल्य छ भने सबैको आम्दानीको स्रोत नै नाङ्लो बुन्ने र बेच्ने भएको छ ।

वसन्तले तालतलैया, खोर्सानेघाटबाट बाँस ल्याउ गर्छन् भने केही आफैँले पनि रोपेका छन् । उनले दैनिक १० वटासम्म नाङ्लो बुन्ने गरेको बताए । एक पटकमा दुई सय वटासम्म बिक्रीका लागि नाङ्लो लैजाने गरेको तथा महिनामा २० देखि २५ हजार रुपैयाँसम्मको नाङ्लो बिक्री गर्दै आएको भनाइ छ ।

एउटा नाङ्लो एक सय ५० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । नाङ्लो विशेषगरी असोज–कात्तिकमा धेरै बिक्री हुने गरेको, यसको कमाइले घरखर्च पुगेको अर्का उद्यमी विक्रम राईले बताउँछन् । उनले ग्राहकको मागअनुसार नाङ्लो बनाउने गरेको बताए ।

धरान, विराटनगर, पथरीलगायत क्षेत्रका ग्राहकले नाङ्लो माग गर्दै आएका छन् । नाङ्लो व्यवसायी कोपिला राई बजारमा नाङ्लोको माग बढे पनि मूल्य यथावत् रहेको बताउँदै अब लागतअनुसार दाम पनि बढाउन आवश्यक भएको बताउँछिन् ।

पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका विक्रम राईले महिनामा दुई सयभन्दा बढी नाङ्लो बेच्ने गरेका छन् । नाङ्लो बनाउने बाँस पाउन गाह्रो भएको एउटा सिङ्गो बाँस दुई सय रुपैयाँसम्म पर्ने गरेको र एउटा बाँसबाट १० वटासम्म नाङ्लो बनाउन सकिने बताए । ‘आफ्ना उत्पादन बोकेर गाउँ डुल्नु पर्दैन, घरमा नै आएर व्यापारीले लैजान्छन् । मेहनतअनुसारको कमाइ हुन्छ,’ उनले भने ।