साना दलहरूबिच एकताका लागि कार्यदल गठन

साना दलहरूबिच एकताका लागि कार्यदल गठन


काठमाडौँ । विभिन्न साना दलहरूको बिचमा एकता र सहकार्यका लागि सहमति भएको छ । हिजो झापाको दमकमा भएको बैठकमा साना दलले एकता र सहकार्यका लागि सहमति गरेका हुन् ।

छलफलमा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल, नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल जनमुक्ति पार्टी, पहिचानवादी मोर्चालगायतका सङ्घ सङ्गठनका पदाधिकारीहरूको बैठक थियो । पहिचान पक्षधरहरूको एकीकृत पार्टी निर्माणका लागि डेकेन्द्रसिंहको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालका नेता सन्तोष मेहताले बताए ।

कार्यदलमा मधुराज गुरुङ र केदार धिमाल रहेका छन् । कार्यदलले एकता गर्ने दलहरूका बिचमा समन्वय गरी संवादका लागि व्यवस्थापन गर्ने बताइएको छ । ‘एक्लाएक्लै संघर्ष गरेर कसैको अधिकार प्राप्त हुँदैन, त्यसका लागि सबै एकीकृत हुने विषयमा सङ्गठनहरूको बिचमा छलफल भएको छ’ मेहताले भने । सबै दल तथा संगठन आ–आफ्नो पहिचानका लागि आ–आफ्नो ठाउँमा सङ्घर्ष गरिनै रहेका तर राज्यले हालसम्म सुनुवाइ नगरेका कारण एउटा छुट्टै एकीकृत शक्ति निर्माण गर्ने सहमति भएको उनले बताए ।

यसको सैद्धान्तिक विषय छलफल गरी टुङ्ग्याउनका लागि कार्यदल गठन भएको बताउँदै उनले त्यो कार्यदलले सबैसँग समन्वय गरी एकता प्रक्रियालाई अगाडि बढाउने बताए ।

छलफलमा पहिचानवादी मोर्चाका कार्यवाहक संयोजक गोपाली किराती, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, नेपाल जनमुक्ति पार्टीका सङ्घीय अध्यक्ष केपी पालुङ्गा, नागरिक उन्मुक्ति पार्टी नेपालका सङ्घीय अध्यक्ष ज्ञानबहादुर गुरुङ, पहिचान सहितको पुनः नामाङ्कन अभियान समितिका संयोजक डकेन्द्रसिंह थेगीम लगायतको उपस्थिति थियो ।

sanadal