रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने

रविलाई पक्राउ गर्ने तयारीविरुद्ध रास्वपाले कार्यकर्ता उतार्ने


काठमाडौँ । सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्ने चर्चासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको हेडक्वार्टरमा सरगर्मी बढेको छ । रास्वपाका नेता कार्यकर्ताहरू कार्यालयमा भेला हुन थालेका छन् ।

जिल्ला अदालत कास्कीले आजै लामिछानेमाथि पक्राउ पुर्जी जारी गर्न सक्ने आँकलन रास्वपाका नेताहरूको छ । पक्राउ पुर्जी जारी भएमा कसरी सामना गर्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए । काठमाडौँदेखि पोखरासम्म नै प्रदर्शन गर्ने तयारी गरिएको छ ।

रास्वपाको कार्यालयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र  डिपी अर्यालसहित प्रमुख नेताहरू उपस्थित छन् । लामिछानेकी पत्नी निकिता पौडेल पनि  केही बेरअघि पार्टी कार्यालय प्रवेश गरेकी थिइन् । नेताहरू आउने क्रम जारी छ ।

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले अन्त्य जरुरी सूचना भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।

उनले लेखेकी छन्, ‘काठमाडौँमा हुने रास्वपाका मित्रहरू चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला । साथै ७७ जिल्लाबाटै रास्वपा टिम तयारी अवस्थामा रहनुहोला ।’

ती नेताका अनुसार रविलाई पक्राउ पुर्जी लिएर प्रहरी आए भने उनी जान तयार हुनेछन् । उनलाई नेता र कार्यकर्ताहरूको समूहले पछ्याएर पोखरासम्म ल्याउने तयारी छ ।  यद्यपि, आजै रविविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन ।