ट्रायल पास गरेपछि लाइसेन्स कार्डको आवश्यकता हट्यो, डिजिटल प्रणाली सुरु : प्रधानमन्त्री ओली

ट्रायल पास गरेपछि लाइसेन्स कार्डको आवश्यकता हट्यो, डिजिटल प्रणाली सुरु : प्रधानमन्त्री ओली


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन नयाँ व्यवस्था सुरु गरिएको जानकारी दिएका छन्। ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने, नागरिक एप मार्फत मोबाइलमा लाइसेन्स उपलब्ध गराइने उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीका अनुसार, सवारी नियम उल्लंघन भएमा ट्राफिक प्रहरीले चिट काट्दा तत्कालै डिजिटल पेमेन्ट गर्न सकिने व्यवस्था पनि लागू हुनेछ। “यस नयाँ व्यवस्थाले लाइसेन्स छपाइको समस्या अन्त्य हुनुका साथै जरिवाना तिर्दा हुने झन्झट पनि हटाएको छ,” ओलीले भनेका छन्।

यो नयाँ प्रणाली भोलिदेखि बागमती प्रदेशको यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा सुरु हुनेछ। प्रधानमन्त्री ओलीले यो व्यवस्थाले सरकारी सेवा छिटो र सरल बनाउन नागरिकलाई सहयोग पुर्‍याउने आशा व्यक्त गरेका छन्। साथै, नागरिक एपमा अन्य सेवा पनि थप्ने तयारी भइरहेको जानकारी दिँदै, कुनै पनि कामको लागि लाइन बस्नुपर्ने समस्याबाट नागरिकहरूलाई मुक्त गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।