शहरी विकास मन्त्री सिंहद्वारा सय दिनको उपलब्धि र आगामी योजना सार्वजनिक

शहरी विकास मन्त्री सिंहद्वारा सय दिनको उपलब्धि र आगामी योजना सार्वजनिक


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नो एकसय दिनको काम र आगामी योजना सार्वजनिक गरेका छन्।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उपप्रधानमन्त्री सिंहले आफूले नेतृत्व सम्हालेपछि भएका काम को प्रगति विवरण सार्वजनिक गरेका हुन्।

शहरी विकास मन्त्रालयले एक सय दिनमा राखेका ११ मध्ये ८ वटा लक्ष्य हाँसिल गरेको छ भने ३ वटा योजना चालू अवस्थामा रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । जसअनुसार धरहरा खुल्ला गरिएको, ७ वटा स्वास्थ्य भवन निर्माण सम्पन्न गरिएको जाजरकोट र रुकुम पूर्वको भूकम्पबाट क्षतिग्रस्त सरकारी भवन तथा स्वास्थ्य संस्थाको भवन पुनः निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५० वटा झोलुंगे पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा ४० वटा सम्पन्न भएको र १० वटा पुल निर्माण कार्य चालु अवस्थामा रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

सो क्रममा उपप्रधानमन्त्री सिंहले शहरलाई सुरक्षित गर्न  आवश्यक नीति बनाउन आफूले काम गरिरहेको बताए।  काम गर्नेहरूलाई काम गर्ने वातावरण बनाउने गरी नयाँ नीति र ऐनहरू ल्याउन काम गरिरहेको उनको भनाइ छ ।

मन्त्रालयले पहुँच सुधारका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको नेपालको सबैभन्दा लामो त्रिवेणी सुस्ता बहुत्तरी झोलुंगेपुल सञ्चालन आएको जनाएको छ भने गोकर्णदेखि गुह्येश्वरीसम्मको ६ किमि क्षेत्रमा ढल व्यवस्थापनको काम सम्पन्न भइ १ महिनाभित्रमा गोकर्णदेखि गुह्येश्वरीसम्म ढलमुक्त हुने उल्लेख गरेको छ ।