प्रधानमन्त्री ओलीको टिप्पणी : रास्वपाले राजनीतिक संस्कार देखाएन

प्रधानमन्त्री ओलीको टिप्पणी : रास्वपाले राजनीतिक संस्कार देखाएन


काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले रास्वपाका नेता कार्यकर्ताले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकार र आफूविरुद्ध तमासा देखाएको भन्दै त्यस्तो तमासा राजनीतिक संस्कार नहुने बताएका हुन् ।

‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उहाँ दोषी भए/नभए अदालतले फैसला गर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यसरी हुल हुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम हुँदैन ।’

साथै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्ने योजना अनुसार नै रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएको र यसबारे सचेत हुन जरुरी रहेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका छन् । शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिएसँगै रास्वपाका नेता कार्यकर्ताले पोखरालगायतका स्थानमा प्रदर्शन गर्नुका साथै ओली सरकारको विरोध गरिरहेका छन् ।

बैठकपछि महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधि सभा आफैँमा सर्वोच्च संस्था भएको भन्दै संसद्ले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई लेखेर पठाएको बताए । उनले सहकारीको रकम हिनामिना सरकारको मात्र विषय नभएर संसद्को साझा सरोकारको विषय भएको भन्दै संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेको र प्रतिवेदनले इंगित गरेका जोकोही छानबिनको प्रक्रियामा आउनुपर्ने बताए ।