१० महिनादेखि अध्यक्ष बिहीन धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने

१० महिनादेखि अध्यक्ष बिहीन धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने


काठमाडौं । धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ ।

विगत १० महिनादेखि अध्यक्ष बिहीन भएको बोर्डले कात्तिक दोस्रो सातासम्म अध्यक्ष नपाउने निश्चित भएको छ । गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष बिहीन बनेको छ । अहिले बोर्ड अर्थमन्त्रालयका प्रतिनिधिको भरमा चलेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन सोमबार राति अमेरिकाको वासिङटन डिसीतर्फ गएका छन् । मन्त्री पौडेल कात्तिक दोस्रो साता मात्रै स्वेदश फर्किने कार्यतालिका रहेको छ ।

उक्त कार्यक्रममा यसअघि नै अर्थ सचिव डा. रामप्रसाद घिमिरे अमेरिका गएका छन् । जसले गर्दा तत्काल प्रकृया अघि नबढ्ने भएको हो । यसअघि असोज १८ गतेका लागि अध्यक्ष छनोट समितिले अन्तवार्ताका लागि बोलाएको थियो । त्यही अघिल्लो राति राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारी अस्वस्थ बनेपछि बोर्डको अध्यक्ष नियुक्ती प्रकृया रोकिएको थियो ।

डेंगु लागेर डा अधिकारी अस्पताल भर्ना भएका थिए । बोर्डको अध्यक्ष नियुक्तीका लागि ५ जनामा छनोट भएकामध्ये तीन जनालाई अन्तवार्ताका लागि उक्त दिन बोलाइएको थियो ।

अध्यक्षमा ५ जनाका लागि छनोट भएका मध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले अन्तवार्ता तथा प्रस्तुती दिएका छन् । बाँकी रहेका डा नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरन्जिवी चापागाईलाई बोलाइएको थियो ।

उनीहरुको अन्तवार्ता हुन अझै बाँकी छ । उक्त अध्यक्ष छनोट समितिले सिफारिस गरेको नामलाई अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्ने र मन्त्रिपरिषदले बोर्डमा चार वर्षका लागि अध्यक्ष नियुक्त गर्ने प्रचलन रहेको छ ।