क्लाइमेट समिटमा गगन थापाले भने-नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्

क्लाइमेट समिटमा गगन थापाले भने-नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जलवायु प्रभावले नेपालका हिमनदीहरू खतरनाक तरिकाले पग्लिरहेको बताएका छन् ।

भारतको नयाँ दिल्लीमा मंगलबार सुरु भएको ‘क्लाइमेट समिट-२०२४’ मा बुधबार सम्बोधन गर्दै महामन्त्री थापाले जलवायु परिवर्तनको प्रभाव नेपालमा गहिरो रूपमा देखिएको बताएका हुन् । ‘मेरो हिमाली देश नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्, जसले हिमनदीको संख्या घटाइरहेको छ’, उनले भने ।

१९७० दशकदेखि हिमनदीहरूले आफ्नो क्षेत्रफलको २५ देखि ४० प्रतिशत गुमाइसकेको उनले बताए । नेपालमा मनसुनको ढाँचा पनि केही वर्षदेखि अनियमित र अनिश्चित हुने गरेको थापाको भनाइ छ ।

यस वर्षको मनसुनमा सामान्यभन्दा २५ प्रतिशत बढी बर्सात भएको उल्लेख गर्दै महामन्त्री थापाले बाढी र पहिरोको प्रकोप पनि बढेको बताए । जलवायु परिवर्तनको असरले असाधारण गर्मी, जंगल आगलागी र वन फँडानी पनि क्रमशः व्यापक हुँदै गएको उनको भनाइ छ । ‘नेपाल खुद शून्य उत्सर्जनको दीर्घकालीन रणनीति’ बमोजिम, नेपालले विशेष गरी ऊर्जा, कृषि, र वन क्षेत्रका सुधारहरूमा ध्यान केन्द्रित गर्दै आएको उनले सुनाए ।

महत्वाकांक्षी सुधारहरू कार्यान्वयन गर्न २०३० सम्ममा एक उत्सर्जन घटाउने परिदृश्य अन्तर्गत राष्ट्रिय जिडिपीको २२ प्रतिशतसम्मको ठूलो लगानी आवश्यक पर्ने थापाको धारणा छ । नेपालका लागि कार्बन बजार विभिन्न क्षेत्रमा जलवायुसँग सम्बन्धित न्यूनीकरण उपायहरूलाई समर्थन र कार्यान्वयन गर्न महत्त्वपूर्ण हुने उनले बताए ।

‘स्वेच्छिक बजारहरूले कार्बन क्रेडिटको माग बढाउन र निजी क्षेत्रलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्’, महामन्त्री थापाले समिटमा भने, ‘हामीले एक यस्तो वातावरण तयार गर्नुपर्छ जसले सार्वजनिक-निजी साझेदारीलाई प्रोत्साहित गरोस्, जसले गर्दा व्यवसायीहरूलाई कार्बन परियोजनामा लगानी गर्न सजिलो हुन्छ ।’