रास्वपाले विधिको शासनको अबमूल्यन गरेको कांग्रेसको ठहर

रास्वपाले विधिको शासनको अबमूल्यन गरेको कांग्रेसको ठहर


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अनुसन्धान जारी रहेका बेला प्रदर्शन गरेर विधिको शासन अबमूल्यन गरेको नेपाली कांग्रेसले ठहर गरेको छ।

बुधबार प्रचार विभाग प्रमुख मिन विश्वकर्माले विज्ञप्ति जारी गर्दै आफ्ना सभापतिमाथि सहकारी ठगीका सन्दर्भमा भएको अनुसन्धान प्रभावित बनाउनका लागि पोखरामा हुलहुज्जत गरिरहेको कांग्रेसको ठहर रहेको जनाएका छन्।

रास्वपाको विरोध प्रदर्शनले राज्यका तटस्थ निकायलाई आतङ्कित र त्रसित पारी अनुचित दवाव सिर्जना गर्ने कार्य भएको कांग्रेसको ठम्याइ छ। निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणको कार्यलाई वाधा पु¥याउने, नागरिकको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सद्भाव र स्थानीय शान्ति सुरक्षामा समेत खलल् पु¥याएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहकारीको रकम अपचलन गरेको भनी गोर्खा मिडिया कम्पनीका सञ्चालकहरु जीबी राई, छविलाल जोशी र प्रबन्ध निर्देशक एवं तत्कालीन उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्ध उजुरी परे पनि विगतमा छानविन अघि नबढेको कांग्रेसको दाबी छ।

सहकारी छानबिन समितिले दिएको प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लगेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रचलित कानून बमोजिम कसुर ठहरिने कुनै पनि गतिविधिमा संलग्न जुनसुकै दल, पद वा हैसियतको व्यक्ति भए पनि अनुसन्धानको दायरामा आउनुपर्ने कांग्रेसले जनाएको छ। न्याय प्रणालीलाई स्वतन्त्र र निष्पक्ष बनाउन उत्तेजित र उच्छृङ्खल गतिविधि नगर्न कांग्रेसले रास्वपालाई सुझाव दिएको छ।

रास्वपाले सभापति रवि लामिछाने पक्राउ गरिएका दिनदेखि नै प्रदर्शन र बिरोध गर्दै आइरहेको छ। लामिछानेले भने अदालत परिसरबाटै सरकार ढाल्नका लागि आह्वान गरेका थिए।