ट्राफिक प्रहरी थाल्यो ‘नो हर्न प्लिज’ अभियान

ट्राफिक प्रहरी थाल्यो ‘नो हर्न प्लिज’ अभियान


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँका चोक-चोकमा ‘नो हर्न’ लेखिएका प्ले कार्डसहित अनावश्यक हर्नको प्रयोग निरुत्साहन अभियान थालेको छ । ट्राफिक प्रहरीले कात्तिक १ गतेदेखि सडक सचेतना जगाउन प्रहरीले प्लेकार्डसहित सवारी चालकलाई अनावश्यक हर्न नबजाउन अनुरोध गर्न थालेको हो ।

काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि फेरि हर्नको प्रयोग बढ्न थालेको भन्दै ट्राफिक प्रहरी सक्रिय भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यवस्था छ ।

कानुनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकहरूले लापरबाही गर्दै आएको प्रहरीको भनाइ छ । ‘ध्वनी प्रदूषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौँ देखि सवारी साधनहरूले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ’, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ ।