गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने


चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिए । रंगशालाको आज अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रंगशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारे ।

उनले भने, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रंगशाला निर्माण सुरु गरिएको रहेछ ।   बहु वर्षीय योजनालाई उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहु वर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसेकेपछि त्यस्तो नगरी तीन वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए ।

पहिलेको तुलनामा काम प्रभावकारी रूपमा भएको उनको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले बताए । अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रंगशाला निर्माणका क्रममा बजेटको सुनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमुना परियोजनाको रूपमा काम भइरहेको उनले जानकारी दिइन् । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसुर बाँकी नराख्ने उनको भनाइ थियो ।

गत असार २३ गते रंगशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार रंगशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुई पक्षीय सम्झौता भएको हो । रु.७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुई वटा टावर निर्माणको क्रम जारी रहेको उनले बताए ।

एउटा टावरमा ग्राउन्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउन्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उनले बताए । रंगशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।