धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग


काभ्रेपलाञ्चोक– गत असोज दोस्रो साताको बाढीपहिराेले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ ।

आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन् । नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्बको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त पालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई आइतबार ज्ञापनपत्र बुझाइएको हो ।

सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो । नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनर्निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाकाबारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए । उनका अनुसार ध्यानाकर्षणपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराइएको छ ।

नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए । उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको नगर प्रमुख ब्याञ्जूले बताए । नगर कार्यालयका अनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नम्बर वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन् ।