बालुवाटारमा पक्राउ रास्वपाका सांसदसहित ५१ कार्यकर्ता छाडिए

बालुवाटारमा पक्राउ रास्वपाका सांसदसहित ५१ कार्यकर्ता छाडिए


काठमाडौँ- बालुवाटार घेराउ जाँदा आज (मंगलबार) दिउँसो पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसहित ५१ कार्यकर्तालाई प्रहरीले साँझ छाडेको छ ।  दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सबैजनालाई छाडिएको जानकारी दिएका छन् । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । यता रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारले आफूहरुविरुद्ध दमन गरेको बताएका छन् ।  कानुनबमोजिम विरोध प्रदर्शन गर्दा राज्यले नागरिकको हकहित संरक्षण गर्नु, हस्तक्षेप नगर्नु र बल प्रयोग नगर्नु, राज्य र राज्यका अंगहरुको कर्तव्य हुने भन्दै मंगलबार रास्वपा नेता र कार्यकर्तालाई पक्राउ गरेको आरोप लगाए ।

रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका आन्दोलन संयोजक तथा केन्द्रीय सदस्य पुकार बम, सांसद अशोक चौधरी र केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, रास्वपा काठमाडौंका सभापति प्रदीप विष्ट, रास्वपा ललितपुरका सभापति बुद्धरत्न महर्जनसहित ५१ जना गिरफ्तार भएका उनले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको र भ्रष्टाचारविरुद्ध केही दिनदेखि काठमाडौँसहित देशका विभिन्न ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेको छ ।