नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय


काठमाडौँ- नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगीका भाइरसका स्वरूप सेरोटाइप-१, सेरोटाइप-२, सेरोटाइप-३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

विगत सात वर्षअघि भने सेरोटाइप-१, सेरोटाइप-२, सेरोटाइप-३, सेरोटाइप-४ सक्रिय रहेका थिए । “भाइरसको जीन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ”, उनले भने। शाखाका प्रमुख डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए । उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए ।डेंगी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेंगी सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ ।

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्दछ ।

उपत्यकामा डेंगी सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा चार हजार ६० जना, भक्तपुर छ सय २८ र ललितपुर एक हजार ६० जनामा डेंगी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानीका सङ्कलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।