काठमाडौँ- सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अनुसन्धानका लागि म्याद थपबारेको बहस सकेको छ।
मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
उनले भने, ‘बहस सकिएको छ। म्याद थपबारे निर्णय भने आइसकेको छैन। आधा घण्टा भित्रमा निर्णय आउँछ।’
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनलाई यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।
प्रहरीले पछिल्लो पटक कात्तिक ८ गते अदालतमा पेस गरेर प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति पाएको थियो । उक्त समय कात्तिक १४ गते सकिएको थियो । लगत्तै तिहार बिदा सुरु भएकाले उनी त्यसयता पनि हिरासतमै थिए । मङ्गलवार अदालत खुलेसँगै म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ ।
प्रतिक्रिया