काठमाडौं – मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाएको छ।
सर्केगाड गाउँपालिका–८ राहदेवकी सविता बुढालाई नेपाली कांग्रेस जिल्ला कार्य समितिले उम्मेदवार चयन गरेको सो पार्टीका जिल्ला उपसभापति वसन्त रोकायाले जानकारी दिए।
विसं २०७९ को स्थानीय तहको निर्वाचनमा पनि बुढा कांग्रेसबाट आकांक्षी थिइन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले भने हालसम्म उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।
एमाले यतिबेला सर्केगाड गाउँपालिकाका आठवटै वडामा विभिन्न नेताको नेतृत्वमा टोली परिचालन गरि घरदैलोमा व्यस्त छ। चार समूह बनाएर घरदैलो अभियान गरिरहेको एमाले जिल्ला सचिव तीर्थराज बोहराले बताए।
माओवादी केन्द्र पनि उम्मेदवार चयनका लागि सर्केगाडमा केन्द्रित भएको सो पार्टीका जिल्ला सचिव धर्मराज बोहराले बताए।
यसअघि २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा सर्केगाडको अध्यक्षमा ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की निर्वाचित भएका थिए।
सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा उपाध्यक्ष कार्कीको दुर्घटनामा परी निधन भएपछि रिक्त उक्त पदका लागि सर्केगाडमा उपनिर्वाचन हुनलागेका हो।
प्रतिक्रिया