उपनिर्वाचन: काठमाडौँमा चुनावी तालमेल गर्ने माओवादी र एकीकृत समाजवादीको निर्णय

उपनिर्वाचन: काठमाडौँमा चुनावी तालमेल गर्ने माओवादी र एकीकृत समाजवादीको निर्णय


काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल सहमति गर्ने निर्णय गरेका छन् ।

उनीहरूले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिका वडा नं १६ को अध्यक्षमा तालमेल गर्ने सहमति गरेका हुन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले हस्ताक्षर गरेको पत्रमा कीर्तिपुरको मेयरमा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनलाई नेकपा एकीकृत समाजवादीले सघाउनेछ ।

काठमाडौं महानगरको १६ नम्बर वडाध्यक्षमा नेकपा एसका मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ । कीर्तिपुरमा मेयरसँगै वडा नं १ र ४ को अध्यक्षको पनि उपनिर्वाचन हुँदैछ । जसमा माओवादीले दुइटै वडामा उम्मेदवारी घोषणा गरिसकेको छ भने एकीकृत समाजवादीले वडा नम्बर ४ मा मात्रै उम्मेदवारी टुङ्ग्याएको छ ।