जागरणका नाममा शक्ति प्रदर्शन गर्दै एमाले

जागरणका नाममा शक्ति प्रदर्शन गर्दै एमाले


काठमाडौं – सरकारको नेतृत्व गरेको प्रमुख पार्टी एमाले नै प्रमुख प्रतिपक्षी जसरी जागरणसभाको नाममा सडकमा प्रदर्शनमा लागेको छ।

प्रतिपक्षी दलहरूले सडकमा सरकारविरुद्ध विभिन्न कार्यक्रम गरिरहेका बेला सत्ता पक्षको प्रमुख दल एमालेले मंसिर ७ गते आफ्नो शक्ति प्रदर्शन गर्न लागेको हो। त्यसका लागि एमाले उपत्यका पार्टी र बाग्मती प्रदेशले व्यापक तयारी गरिरहेका छन्।

मंगलबार मात्रै काठमाडौंमा उपलब्ध पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा केन्द्रीय सदस्यहरूको संयुक्त बैठक बसेको थियो। सो बैठकले ७ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउने निर्णय गरेको छ। नेकपा एमाले विधिको शासनमा विश्वास गर्छ र कानुनीराज्यको मान्यता रहेको छ भन्ने सन्देश दिन जागरण सभा गर्न लागेको एमालेका नेताहरूले दाबी गरेका छन्। आफ्ना सबैजसो जनवर्गीय संगठनलाई उपस्थितिका लागि निर्दैशन मात्रै दिएको छैन, व्यापक मात्रामा जनताको सहभागिता गराउन र उनीहरूलाई सुरक्षित बनाउन निर्देशन दिइसकेको छ।

काठमाडौंमा हुने जनप्रदर्शनमा एमालेका जनवर्गीय संगठनहरू युवा संघ नेपाल, जिफन्ट, अनेरास्ववियु, सम्पर्क मञ्चलगाय सबैजसो जनसंगठनलाई प्रदर्शनमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। एमालेले अराजकताविरुद्ध सामाजिक सद्भाव, राष्ट्रिय एकता र राजनीतिक स्थिरताको सन्देश दिने गरी प्रदर्शन गर्न लागेको हो। एमालेले यसलाई जागरणसभा नाम दिएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाबाट जनता ल्याउन गत हप्ताबाटै तयारी गरेको थियो। यसबारे एमालेले बुधबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया र छलफलसमेत गर्ने भएको छ।

जागरणसभामा करिब एक लाख बढी नेता–कार्यकर्ता सडकमा आउने एमाले नेताहरूको दाबी छ। काठमाडौंको भृकुटीमण्डपमा हुने जागरणसभामा एमालेले उपत्यकाका तीनवटै जिल्लाको सम्पूर्ण पार्टी शक्ति परिचालन गर्ने निर्णय गरिसकेको छ। एमालेले यो सभालाई उपनिर्वाचन मात्र होइन, मिसन २०८४ को एउटा अंग पनि मानेको छ।