बागमती । हेटौँडा उपमहानगरपालिका-१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् ।
चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् । सबै उम्मेदवारले वडामाका समस्या समाधान गरी विकास- निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।
गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त छ । रिक्त वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको छ ।
हेटौँडा उपमहानगरपालिका-१२ को उपनिर्वाचनका लागि नेपाली काँग्रेसले अर्जुन तिवारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राजेश नगरकोटी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले रविन प्रधानलाई उम्मेदवार बनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा )र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि ठूला दललाई चुनौती दिँदै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । रास्वपाले आशावीर बल, एकीकृत समाजवादीले बलराम बल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा छन् । सो वडामा उपनिर्वाचनका लागि नौ दलका नौ जना र स्वतन्त्र तीन जना गरी १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य दलबीच नै प्रतिस्पर्धा हुने
गत २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मुख्य तीन दलबीच तीव्र प्रतिस्पर्धा भएकामा अहिले पनि कडा प्रतिस्पर्धा हुने छ । माओवादी केन्द्रलाई आफ्नो पुरानो साख जोगाउने चुनौती छ भने एमाले र काँग्रेसलाई पनि यो वडा प्रतिष्ठाको विषय बनेको छ ।
गत २०७९ वैशाखमा सम्पन्न निर्वाचनमा माओवादी केन्द्रका ललितबहादुर घलानले एक हजार तीन सय ७१ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका अर्जुन तिवारीले एक हजार तीन सय ४० मत ल्याउँदा एमालेका राजेश नगरकोटीले एक हजार तीन सय २५ मत ल्याएका थिए ।
माओवादी केन्द्रबाट नयाँ उम्मेदवार हुँदा काँग्रेस र एमालेले पुरानै उम्मेदवारलाई मैदानमा उतारेका छन् । यसले यहाँ चुनावलाई रोचक बनाएको छ ।
प्रतिक्रिया