अब रोजगारी सिर्जनामा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

अब रोजगारी सिर्जनामा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह


 

काठमाडौँ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।तनहुँको भानु नगरपालिकामा नयाँ शहर आयोजना कार्यालय डुम्रे-भन्सार तनहुँको एकीकृत सरकारी भवनको उद्घाटन गर्दै उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससँगै अब युवाहरूलाई गाउँमै रोजगारी सिर्जना गर्नेतर्फ पनि स्थानीय सरकारले योजनाहरू बनाउनुपर्ने बताए ।

एकीकृत सरकारी भवनले सेवा प्रवाह सहज हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री सिंहले नगरपालिकाका हरेक गतिविधिमा युवा, महिला, वृद्ध वृद्धासहित समाजका सबै तहका व्यक्तिहरूलाई समेट्नुपर्नेमा जोड दिए ।

तल्लो तहबाटै अनुशासित स्वयंसेवी नागरिक बनाउन सके मात्रै असल समाज बन्ने भएकाले स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

राजनीतिक स्थायित्व विना विकासले गति लिन नसक्ने भन्दै उनले राजनीति स्थिरताका लागि अहिले संसद्का दुई ठूला पार्टी मिलेर सरकार बनाएको बताए ।

‘राजनीतिक स्थिरता र स्थायित्व भयो भने मात्रै विकासले गति लिन्छ भन्ने कुरा तपाईँ हामी सबैलाई महसुस भएको हुनुपर्छ,’ उनले भने, ‘त्यसैले अहिले संसद्का दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । राजनीति स्थिरताको जगमा विकास र समृद्धिलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ ।’