राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल हुन् : ‘प्रचण्ड’

राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल हुन् : ‘प्रचण्ड’


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पुराना दलहरू रूपान्तरण हुनुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमा आफ्नो भनाइ राख्दै अध्यक्ष प्रचण्डले नयाँ दल र व्यक्तिहरूमाथि राज्यले डण्डा हान्नु नहुने धारणा राखेका छन्  ।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरू राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैँचामा फूलेका सुन्दर फूल भन्दै आएको छु। लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरूको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरूले आफूलाई रूपान्तरण गर्न सम्भव छ।’

अध्यक्ष प्रचण्डले बगैँचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फुल्न दिएर मात्रै त्यसको सही पहिचान हुने पनि औँल्याएका छन् ।

उनले अगाडि भनेका छन्,‘ सही र गलतको पहिचान जनताले गर्छन्, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’