४१ पदका लागि भएको उपचुनावमा एमाले विगतमा जितेका ७ वडाध्यक्ष मध्ये एउटा सिटमा मात्रै आफ्नो उम्मेदवारलाई जिताउन सकेको छ । माओवादी केन्द्रले विगतमा जितेका ६ वडाध्यक्ष मध्ये पूर्वी रुकुमलाई छोडेर सबै गुमाएको छ । नेपाली काँग्रेसले १९ वडाध्यक्षमा १० र ६ पदाधिकारी मध्ये कीर्तिपुरलाई छोडेर सबै गुमाएको छ ।
साना दलहरूबाट जित्नेको अवस्था पनि त्यस्तै देखिएको एमाले महासचिव पोख्रेलको बुझाइ छ । जसपाले आफूले विगतमा जितेको गुमाएको र यसपटक नयाँ ठाउँमा चुनाव जितेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘स्वतन्त्रले जितेको ठाउँमा पनि स्वतन्त्रले जित्न सकेन । नयाँ ठाउँमा स्वतन्त्रले जितेको देखियो ।’
यी विवरण उल्लेख गर्दै महासचिव पोख्रेलले जनप्रतिनिधिको भूमिका हेरेर जनताले मत परिवर्तन गर्न खोजेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘जनप्रतिनिधिको भूमिका प्रति स्थानीय जनता सन्तुष्ट नभएको र मत परिवर्तन गर्न खोजेको/गरेको देखिन्छ । यसवाट जनप्रतिनिधिहरूले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ ।’
उपचुनावको परिणाममा एमाले तेस्रो भएको भनेर प्रचार भइरहेको उल्लेख गर्दै उनले अगाडि भनेका छन्, ‘अहिलेको निर्वाचनको परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ ।’
तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्ष त्योभन्दा भिन्न देखिने महासचिव पोख्रेलले बताए ।
उपचुनाव भएका ४४ सिटमा नेपाली काँग्रेसले विगतमा जितेका २७ सिट रिक्त भएका थिए । त्यसमा २ जिल्ला समन्वय प्रमुख, ३ पालिका प्रमुख/अध्यक्ष र ३ पालिका उपप्रमुख/उपाध्यक्षका साथै बाँकी वडाध्यक्ष रहेका थिए । त्यसपछि दोस्रोमा माओवादी केन्द्रले जितेका ८ सिट थिए । जसमा २ उपाध्यक्ष र ६ वडाध्यक्ष रहेका थिए ।
एमालेले चुनाव जितेका ७ वडाध्यक्षको सिटमा मात्र उपचुनाव भएको थियो । चुनावको परिणामलाई यसकै सेरोफेरोमा विश्लेषण गर्नुपर्ने एमाले महासचिव पोख्रेलको मत छ ।
समग्रतामा काँग्रेसले कीर्तिपुरको मेयर सहित १६ वडाध्यक्ष जितेको छ । जिल्ला समन्वय प्रमुख दुबै सुरक्षित गरेको छ । यस हिसाबले काँग्रेसले २ अध्यक्ष र ३ उपप्रमुख/उपाध्यक्ष गरी ५ पदाधिकारी र ३ वडाध्यक्ष गुमाएको छ ।
माओवादी केन्द्रले एक अध्यक्ष र एक उपाध्यक्ष र एक वडाध्यक्ष थप्न सफल भएको छ । यद्यपि माओवादीको जितमा विगतको चुनावमा काँग्रेससँगको तालमेलमा उसले आफ्नो प्रभाव क्षेत्रमा छोडेका सिट पनि सामेल छन् । यहाँनेर एमाले महासचिव पोख्रेलले लेखेका छन्, ‘यद्यपि कोशी प्रदेशको तराई क्षेत्रमा भने उसले आफ्नो जनमतमा केही सुधार गरेको देखिन्छ ।’
एमालेले विगतमा जितेका ७ वडाध्यक्षका ठाउँमा उसले एक अध्यक्ष, दुई उपाध्यक्षसहित ५ वडाध्यक्ष जितेको छ । गुमेको दुई वडाध्यक्षका ठाउँमा एक अध्यक्ष र दुई उपाध्यक्ष सहित तीन पदाधिकारी जित्न सफल भएको छ । यस हिसाबले एमालेका लागि पनि निर्वाचनको परिणाम सुधारोन्मुख नै देखिने महासचिव पोख्रेलले बताए ।
पार्टीको अपेक्षा अनुसार परिणाम आउन भने नसकेको उनले बताए । ‘तर नेकपा (एमाले)का स्थानीय कमिटीको योजना र अपेक्षा अनुरूप भने चुनावी परिणाम आउन सकेन । विशेष गरी राजधानी काठमाडौँमा हुने निर्वाचनको परिणाममा उल्लेख्य सुधारको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन’, महासचिव पोख्रेलले भने ।
अझै पनि शहरी क्षेत्रका मतदाताको झुकाव मूलधारका राजनीतिक दलका पक्षमा आउन नसकेको उनको व्याख्या छ । यहाँनेर महासचिव पोख्रेलले लेख्छन्, ‘त्यसमाथि पछिल्लो समयमा सामाजिक सञ्जालमा भएको नेकपा एमाले र त्यसको नेतृत्वका विरुद्धको कुप्रचारले पनि एक हदसम्म चुनावी परिणामलाई प्रभावित गरेको देखिन्छ ।’
प्रतिक्रिया