काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इतर पक्षका नेता डा. शेखर कोइरालालाई पार्टीभित्रको असन्तुष्टि भए सम्बन्धित संयन्त्रमा नै राख्न आग्रह गरेका छन्।
कोइरालाले काँग्रेसको कोशी सम्मेलन बहिष्कार गरेको प्रशंगमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले भने, ‘उहाँ कुन अनुकूलताले आउनुभएन, त्यसमा हामी पार्टीबीच एकताबद्ध भएर जानुपर्छ। कुनै मनमुटाब असन्तुष्टि भए जोसुकै नेता भए पनि पार्टीकै फोरममा छलफल गर्नुपर्छ।’
उनले असन्तुष्टिको विषयहरूलाई बाहिर राखेर काँग्रेसमा मतभिन्नता पो रहेछ भन्ने ढंगले कोही प्रस्तुत हुन नहुने बैठकमा नेताहरूले पनि भनाइ राखेको सुनाए।
उनले थपे, ‘यसमा व्यक्तिगत असन्तुष्ट भन्दापनि पार्टी एक भएर जानुपर्छ। असन्तुष्टि भए पार्टीको सम्बन्धित संयन्त्रमै छलफल गर्नुपर्छ। बाहिर राख्नु हुँदैन। संस्थागत तरिकाले नै आफ्नो मत राख्नुपर्छ।’
केन्द्रीय कार्यालयको निर्देशन विपरीत शेखर पक्षले कोशी प्रदेश सभापतिहरूको भेला राखेपछि काँग्रेसमा असन्तुष्टि बढेको छ। कोशीमा बेग्लै भेला राखेका शेखरले पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापालगायत नेताहरू सहभागी भएको सम्मेलन बहिष्कार गरेको चितवन पुगेका थिए।
भेलालाई सम्बोधन गर्दै शेखर समूहबाट महामन्त्री निर्वाचित भएका थापाले समेत उनको आलोचना गरे। यद्यपि, पछिल्लो समय थापा सभापति देउवासँग नजिकिएको काँग्रेस वृत्तमा चर्चा छ।
आफ्नै गृह प्रदेशमा भेला चलिरहेको बेलामा शेखर भने चितवन पुगेर आफ्नो भेलालाई अवैध भन्दै केन्द्रीय कार्यालयले पत्र काटेकोप्रति असन्तुष्टि जनाएका थिए।
उनले भनेका थिए, ‘बहिष्कार भन्ने कुरा होइन। धेरै पहिले पालिका सभापतिहरूको कार्यक्रम गर्ने कुरा भएको थियो। पछि मिलेर गर्ने भनिएको थियो, तर पछि केन्द्रीय कार्यालयले एउटा विज्ञप्ति निकाल्यो, आधिकारिक होइन वैधानिक होइन भनेर। काँग्रेसमा वैधानिक र आधिकारिक भन्ने कुरा के हो रु मलाई त्यो वक्तव्यसँग चित्त दुःखेको हो, तर यहाँ आउने भन्ने कुरा त मेरो पूर्वनिर्धारित हो। हाम्रो भेलामा १३७ मध्ये ११३ आउनुभएको थियो । राम्रो कार्यक्रम भयो। त्यस्तो वक्तव्य आउन हुँदैनथ्यो।’
उनले नेतृत्वलाई काँग्रेस पनि एमाले जस्तो ओलीजीले जे भन्यो त्यही मान्नुपर्ने पार्टी जस्तै बनाउन खोजेको हो ? भन्दै प्रश्न गरेका थिए।
प्रतिक्रिया