काठमाडौँ – काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि आजबाट उक्त खण्डमा सवारीसाधन गुड्न थालेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् ।
व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए ।
सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिजी प्रकाश कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर ठेक्का लगत्तै अविरल वर्षा,चाडबाड र बाढीले काममा बाधा पुगेको थियो ।
काठमाडौं डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कात्तिक २ गतेबाट काम सुरु भएको थियो ।
राणकालमा निर्मित उक्त कलभर्ट पुरातात्त्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्त्व विभागले समेत चासो देखाएको थियो । जसका कारण विभागसँग सहमति लिनु पर्ने प्रक्रियाले पनि निर्माण कार्यमा केही ढिलाई भएको थियो । तर कातिक १ गते पुरातत्त्व विभागले समेत कल्भर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो ।
निर्माण थालेको ४६ दिनमा काम सकिएको डिभिजन प्रमुख भण्डारीले बताए । गत साउन २५ मा कमलादीमा अविरल वर्षासँगै सडकमा भ्वाङ परेको थियो । त्यसपछि उक्त खण्डमा सवारी आवागमन ठप्प बनेको थियो ।
प्रतिक्रिया