नेपाली युवा राेजगारी खाेज्दै विदेशतिर, भारतीय नागरिक नेपाल आएर लाखाैँ कमाउँछन्

नेपाली युवा राेजगारी खाेज्दै विदेशतिर, भारतीय नागरिक नेपाल आएर लाखाैँ कमाउँछन्


कञ्चनपुर ।

दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरको पारि भारतीय बस्ती नौजलियाका बासिन्दा हुन्, कार्तिक मण्डल । नौजलियामा उनीसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो झुप्रो मात्रै छ ।

उनले जीविकोपार्जनको गन्तव्य बनाएका छन्- नेपाली गाउँ, कुतियाकबरलाई । उनले कुतियाकबरमा तरकारी खेती गर्न थालेको दशकभन्दा बढी समय भइसक्यो । ‘खेतीका लागि आफूसँग जमिन छैन, यहाँ जमिन भाडामा लिएर तरकारी गरिरहेको छुँ,’ उनी भन्छन, ‘यसैबाट घरखर्च चल्छ ।’ सुरुआतमा २ बिघा जमिन भाडामा लिएको उनले बताए ।

राेजगारीकाे अवसर नभएकाे भन्दै नेपाली युवा दिनै विदेश गइरहँदा यता भारतीय नागरिक भने उद्यमकै लागि नेपाल आउँछन् र लाखाैँ कमाएर भारत लान्छन् ।

महाकाली नदीले जमिन कटान गरेर १ बिघा मात्रै बाँकी राखेको उनको भनाइ छ । परबलका साथै भिन्डी, खुर्सानी, हल्दीलगायतको खेती उनले गरेका छन् ।

‘१२ हजार रुपैयाँ प्रत्येक वर्ष जमिनको भाडा तिर्छु, तरकारी खेतीमा परिश्रम धेरै लाग्छ,’ उनी भन्छन्, ‘घरपरिवारको खर्च तरकारी खेतीबाटै चलेको छ ।’

भारतीय बस्ती नौजलिया र नेपाली बस्ती कुतियाकबरको भूभाग मात्रै जोडिएको छैन । यहाँका स्थानीयको रोजीरोटी पनि आपसमा जोडिएको छ । मण्डलजस्ता धेरै भारतीय नागरिक कुतियाकबरमा तरकारी खेतीमा जमेका छन् ।

नौजलियाकै पुलिन बआडले पनि कुतियाबरमा जमिन भाडामा लिएर तरकारी खेती गर्छन् । उत्पादित तरकारी बिक्रीका लागि भारतीय बजार तथा महेन्द्रनगरतर्फ लैजाने गरेको उनको भनाइ छ ।

‘व्यवसायी बारीमै आएर पनि तरकारी लैजान्छन्, हामी कहिले बिक्रीका लागि भारततिर त कहिले नेपालतिर लैजान्छौँ,’ उनी भन्छन्, ‘बाढीले ल्याएको बलौटे माटोमा परबल राम्रो उब्जाउ हुन्छ ।’

धान, गहुँ, तरकारी, परबल र बदामको खेती गर्ने गरेको उनले बताए । कुतियाकबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पुर्‍याउने गरेको पुलिनको गुनासो छ ।

एक पटक छरेको परबलको बीउ ५-६ वर्षसम्म उत्पादन दिने गरेको उनले बताए । ‘एक पटक छरेपछि ५-६ वर्षसम्म बीउ छर्नुपर्दैन, उत्पादन दिइराख्छ,’ उनले भने, ‘त्यसैले पटकपटक लगानी गरिराख्नु पर्दैन, आफ्नो मेहेनत मात्रै लाग्छ ।’

दोधारा चाँदनीमा उत्पादन भएको परबलले स्थानीय स्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ ।

‘अचेल यतै गाडी चल्न थाले, अब हामीलाई आफ्नो उत्पादन बिक्री गर्न सहज भएको छ,’ विश्व मण्डल भन्छन् । उनका अनुसार परबल प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

१ कठ्ठा जमिनमा १ हप्तामा २ क्विन्टलसम्म परबल उत्पादन हुने गरेको मण्डलले बताए । ‘परबल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं,’ उनी भन्छन्, ‘एक पटकमा १/२ क्विन्टलसम्म परबल उत्पादन हुन्छ ।’