काठमाडौ – पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रूपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता-कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणलगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन्।
उनले तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेकाले तत्काल मर्मत कार्य अघि बढाएर पुनर्निर्माणलाई गति दिन आग्रह गरे। काठमाडौं–सिन्धुपाल्चोक खण्डमा दुईवटा बेलिब्रिज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था रहेको उनले बताए।
यसपटकको बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा ठुलो क्षति पुर्याएको थियो। प्रकोपलगत्तै अध्यक्ष प्रचण्डले प्रभावित स्थलको निरीक्षण गर्नुका साथै प्रभावित स्थलमा उद्धर, राहत र पुनर्स्थापनामा नेता-कार्यकर्ता परिचालन गरेर विपत् व्यवस्थापनको पहल लिएका थिए।
प्रतिक्रिया