मन्त्रीहरुलाई गगनले भने–अध्यादेश छलफल गरेरै ल्याएको हो, विरोध आवश्यक छैन

मन्त्रीहरुलाई गगनले भने–अध्यादेश छलफल गरेरै ल्याएको हो, विरोध आवश्यक छैन


काठमाडौं । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य समीक्षा गर्न बसेको सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा अध्यादेशबारे चर्चा भएको छ ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहँदा बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको बैठकमा त्यसबारे छलफल भएको हो । विगतमा अध्यादेशको चर्को विरोध गर्ने महामन्त्री गगन थापाले मन्त्रीहरुलाई अध्यादेशलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

सरकारले आफूहरुसँग सल्लाहमै अध्यादेश ल्याएकाले विरोध गर्न आवश्यक नरहेको उनको भनाई थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् । कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन् ।

तर, मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यू ले पनि पोजेटिभ रूपमा लिनुपर्छ । हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन ।’

मन्त्रीहरुको ६ महिने कार्यकालमा भएका कामको समीक्षा गर्न आयोजित छलफलमा सभापति देउवा, पार्टीका शीर्ष नेताहरु, १० मन्त्री र २ राज्यमन्त्रीको उपस्थिति थियो । आ–आफ्नो मन्त्रालयको कार्य प्रगति विवरण सुनाएका मन्त्रीहरुले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।