पाटनमा १०० मत खसेपछि रोकियो मतदान, आरआरमा नेविसंघको नाराबाजी

पाटनमा १०० मत खसेपछि रोकियो मतदान, आरआरमा नेविसंघको नाराबाजी


काठमाडौं । पाटन संयुक्त क्याम्पसमा १०० मत खसेपछि स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) को मतदान रोकिएको छ।मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्ण बिकेले जानकारी दिएका छन् ।

‘आधा घण्टाअघि मतदान रोकिएको छ । मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ,’ उनले भने । पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।

आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन
काठमाडौं । रत्नराज्य क्याम्पसमा रोकिएको चुनाव गराउन माग गर्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ ।

गए राति अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । जसका कारण निर्वाचन प्रभावित भयो ।

अहिले बानेश्वर बहुमुखी क्याम्पसमा भने मतदान सुरु भएको छ । यहाँ विहान नेविसंघले सर्वदलीय बैठक आह्वानको माग गर्दै प्रदर्शन गरेको थियो । यस्तै, त्रिचन्द्रमा विद्यार्थीहरुले ताला फुटाएर अध्ययन सुरु गर्न आग्रह गरेका छन् । अस्कलमा तालाबन्दी नै छ ।