काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले विवादमा रहेको भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको हो ।
सत्तारुढ जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् ।
बैठकमा सहभागी जसपा नेपालका प्रथम उपाध्यक्ष राजकिशोर यादवले भने, ’भूमि अध्यादेश फिर्ता लिन्छौैं भन्ने प्रधानमन्त्री कुरा थियो र उहाँले उक्त अध्यादेश संसदीय प्रक्रियामा अघि नबढाउने प्रतिवद्धता जनाउनु भएको छ । जसपा नेपालसँगको सहमति अनुसार नै अध्यादेश नभई विधेयकमार्फत् भूमिसम्बन्धी कानुन बनाउँछौं भन्नुभयो ।’
पार्टीका तर्फबाट भूमिसम्बन्धी अध्यादेशमा पुरानो अडान दोहोर्याइएको उनले बताए । सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपाका अध्यक्ष अशोक राई, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतको सहभागिता थियो ।
सरकारले संसद्को चालु अधिवेधन सुरु हुनु केही दिनअघि मात्र ६ वटा अध्यादेश ल्याएको थियो जसको सत्ता र प्रतिपक्षका दलले विरोध गरेका थिए । भूमि अध्यादेशको भने सत्तारुढ जसपा नेपालले कुनै पनि हालतमा पारित नगर्ने अडानमा थियो ।
प्रतिक्रिया