उपप्रधानमन्त्री सिंहले भने-‘विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्व तयारी गर्दैछौँ’

उपप्रधानमन्त्री सिंहले भने-‘विपद्जन्य घटना न्यूनीकरणका लागि पूर्व तयारी गर्दैछौँ’


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले समयमै नदी र खोलाहरूलाई सफा गर्ने, बाँध लगाउने जस्ता काम भइरहेको बताए ।

उनले अधिकार सम्पन्न बागमती सभ्यताबाट नदीहरू सफाई गर्ने कार्य शुरु गरिसकेको उल्लेख गरे । अचानक आउने विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले यस पटकदेखि सानो भए पनि तत्काल खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको उनले बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘समयमै नदी र खोलाहरूलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । अधिकार सम्पन्न बागमती सभ्यताबाट नै नदीहरू सफाई गर्ने कार्य शुरु भइसकेको छ ।’

अचानक आइपर्ने विपत्तिका लागि मन्त्रालय आवश्यक तयारी गरिरहेको उनले बताए । मनसुनबारे पूर्वसूचना अनुसार विगतमा भएका कामबाट सिकेर अघि बढ्न आवश्यक रहेकोमा उनको जोड छ ।