भिजिट भिसा प्रकरणको लडाई निष्कर्षमा पुर्‍याएरै छाड्छौं : प्रचण्ड

भिजिट भिसा प्रकरणको लडाई निष्कर्षमा पुर्‍याएरै छाड्छौं : प्रचण्ड


काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले आज पेलेर जान खोजेपछि आफूहरूले नदिएको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘भिजिट भिसा प्रकरणमा पनि जे देखिएको छ, हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई परिणाममा पुर्‍याउने हाम्रो कोशिस भइरहेको छ। आज उनीहरूले जबरजस्ती गर्न खोजेका थिए । हामीले छानबिनको विषय मुख्य भएकाले सरकारको भनाइ के छ ? भनेपछि अहिले सदन स्थगित भयो ।’

उनले राजावादीहरू जहाँ पुगेपनि आक्रामक ढङ्गले प्रस्तुत भइरहेको बताएका छन् । उनले भने, ‘हामी अहिले शान्तिपूर्ण संघर्षमा छौँ । तर, राजावादीको वितण्डा जसरी देखियो त्यसबारे युवा र विद्यार्थीहरूलाई भनेका छौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण भनेका छौँ । यदि राजावादीहरू हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुस् भनेका छौँ । उनीहरूको कुतर्कको सही जवाफ दिएर पर्दाफास गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले आफूहरूले उत्पीडित वर्ग–समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म नहुने निष्कर्ष निकालेको बताएका छन् । ‘समग्रमा उत्पीडित वर्ग–समुदायसँग गहिरो सम्बन्ध नबनाएसम्म पार्टीलाई जीवित बनाउन, रूपान्तरण गर्न नसकिने रहेछ भनेर हामीले निष्कर्ष निकालेका छौँ, दस्ताबेजीकरण गरिएको छ,’ उनले भने । माओवादी केन्द्र आफ्नो वर्गतिरै फर्किएको उल्लेख गर्दै प्रचण्डले अब पार्टीले समाजवादको नेतृत्व गर्ने पार्टी बन्ने दाबी गरे । ‘कार्यक्रमिक रूपमा भन्दा हामी स्वायत्तता र पहिचानको पक्षमा छौँ,’ उनले भने ।

यस्तै प्रचण्डले नेपाली समाजवाद नेपालमा आधारित नै हुनुपर्ने बताए । ‘समाजवाद भन्ने कुरा कुनै किताब, कसैका अनुभव; चीन, भियतनामबाट आउँदैन। उनीहरूका अनुभवहरू रेफेरेन्स त हुन्छ तर, हाम्रो लागि हाम्रै ज्ञान चाहिन्छ। नेपाली समाजवाद नेपालमै आधारित हुनुपर्छ,’ उनले भने ।

अध्यक्ष प्रचण्डले माओवादीमा सामेल हुने लहर चलेको दाबी समेत गरेका छन् । पार्टीको अभियानका क्रममा कांग्रेस, एमाले, मधेसवादी दलहरूको नेतृत्वमा रहेका पालिकाहरूले पनि स्वागत गरेको र नेताहरू आफ्नो पार्टीमा सामेल भएको उनले बताए। ‘जनताका लागि फेरि उठ्ने भन्ने हाम्रो संकल्प देखेर धेरै नेताहरू पार्टीमा सामेल हुनुभएको छ, लहर चलेको छ,’ उनले भने ।