अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : गगन थापा

अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैन : गगन थापा


विराटनगर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरूपण गरिनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले नेपाली काँग्रेसको आगामी महाधिवेशन हुनु अगावै क्रियाशील सदस्यको विषय टुङ्गो लाग्नुपर्ने भन्दै हरेक नेताले आफ्ना निर्वाचन क्षेत्रमा सदस्यता नवीकरण एवं छिनोफानो गर्नुपर्ने बताए । 

काँग्रेसका नेताहरूले आफ्नो जिम्मेवारी समयमै पूरा गर्नुपर्ने धारणा राख्दै उनले सरकारको सफलताका निम्ति सम्पूर्ण प्रयत्न गरिएको धारणा राखे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत काम गरी जनताको मन जित्नुपर्ने र हाल भइरहेका कामको समीक्षा हुनुपर्ने बताए ।