संसद सुचारु गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल

संसद सुचारु गर्न सभामुखको पहल, प्रमुख सचेतकहरूसँग छलफल


काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको कार्यसूची र बजेट छलफललाई अगाडि बढाउन प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका छन्। सभामुखको सचिवालयका अनुसार, आइतबार बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने यो बैठकमा संसदको क्यालेन्डर र अन्य महत्वपूर्ण विषयमा छलफल हुनेछ।

जेठ १३ गतेदेखि विपक्षी दलहरूले भिजिट भिसा र अध्यागमन प्रकरणलाई लिएर संसद् अवरोध गर्दै आएका कारण बजेटमाथिको छलफल र अन्य नियमित कार्यसूची प्रभावित भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग राख्दै संसद् अवरुद्ध गरेको थियो। यद्यपि, शुक्रबार माओवादी केन्द्रले संसद् खोल्न सहमति जनाएपछि बैठक सुचारु भएको थियो।

सभामुख घिमिरेले संसदको गतिरोध हटाउन सत्तापक्ष र विपक्षी दलहरूबीच निरन्तर छलफल गर्दै आएका छन्। बैठकमा उपसभामुख इन्दिरा रानामगर, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनेछन्।